वित्तीय जागरणमार्फत उद्यमशीलतको विकास गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो आयोजना गरिएको छ । मिडिया इन्टरनेसनल काठमाडौंको आयोजना, नेपाल राष्ट्र बैंकको प्रबर्द्धन तथा बीमा समिति र धितोबोर्डको सहयोगमा माघ ११ र १२ गते बैंकिङ एक्स्पो हुन लागेको हो ।
कालिकानगरस्थित कालिका मानव ज्ञान माविको प्रांगणमा हुने एक्स्पोमा विभिन्न वाणिज्य बैंक, विकास बैंक, लघु वित्त, वित्तीय संस्था, फाइनान्स कम्पनी, बीमा कम्पनी र शेयर कारोबार गर्ने संस्थाहरुका ५० बढी स्टलहरु रहने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले जानकारी गराए ।
एक्स्पोमा बैंकहरुले आफ्ना प्रोडक्ट, ब्याज दर, सेवा लगायतका विषयमा अवलोकनकर्ताहरुलाई प्रत्यक्ष जानकारी गराउने छन् । मेला अवधिमै बैंकिङ, पुँजी बजार र वीमा सम्बन्धी विज्ञहरुको सहभागितामा अन्तरक्रिया समेत सञ्चालन गरिने र कर्जा लिएर सफल उद्यमी बनेका व्यक्तिहरुका विषयमा तयार पारिएका डकुमेन्ट्री र नाटकहरु प्रदर्शन गरिने अध्यक्ष निर्दोषले जानकारी दिए ।
एक्स्पोबारे जानकारी दिन आयोजित अन्तरक्रियामा बोल्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक अशोककुमार पौडेलले अझै पनि कूल जनसंख्याको आधा भन्दा बढी जनता बैंकिङ पहुंचबाहिर रहेकाले वित्तीय साक्षरता बढाउन आवश्यक रहेको बताए ।
माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसनका केन्द्रीय सदस्य पार्वत कार्कीले एक्स्पोमा ग्रामीण क्षेत्रका किसानहरुलाई सहभागी गराउन सुझाए ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले यस्ता कार्यक्रमले उद्यमशीलताको विकास गरी बैंक र उद्योगीबिचको सम्बन्धलाई अझ निकट बनाउनमा सहयोग गर्ने धारणा राखे ।
त्यस्तै, पत्रकार महासंघ प्रदेश ५ का भरत केसीले राजनीतिक मात्र नभएर अब पत्रकारहरुले पनि उद्य्रमशीलताका विषय उठाउनुपर्नेमा जोड दिए ।
भिजन लुम्बिनीका अध्यक्ष एवम् चौतारी लघुवित्तका अध्यक्ष जगत पोखरेलले वित्तीय चेतना अभिवृद्धि गर्ने यस्ता खालका कार्यक्रममा आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।